सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुललाई

कीर्तिपुर नगरपलिका-४ स्थित नेपाल एपीएफ स्कुलको १९ औं स्थापना दिवसका अवसरमा सञ्चालित प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि काभ्रेको साँगास्थित नेपाल पुलिस स्कुलले जितेको छ । 

मंगलबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपीएफ स्कुलको क टिमलाई सडेन डेथमा स्तब्ध बनाउँदै पुलिसले उपाधि उचालेको हो । उपाधिसँगै पुलिस स्कुलले नगद ३० हजार रुपैयाँ, ट्रफी तथा रनिङ शिल्ड प्राप्त गर्यो । दोश्रो बनेको एपीएफले २० हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित ६० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जहाँ पुलिस स्कुल ६-५ ले विजयी भयो । खेलको म्यानअफ दि म्याच पुलिस स्कुलका गोलरक्षक दिप्सन परियार घोषित भए । 

व्यक्तिगत विधातर्फ दिप्सनले उत्कृष्ठ गोलरक्षकको उपाधिमा समेत बाजी मारे । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा नेपाल एपीएफ स्कुल कीर्तिपुरका तेन्जिङ्ग शेर्पा, सर्वाधिक गोलकर्तामा सैनिक आवासीय महाविद्यालयका डिग विजय शाही घोषित हुँदा अनुशासित टोलीको उपाधि सैनिक आवासीय महाविद्यालय सल्लाघारीले प्राप्त गर्यो । 

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीका खेलाडी र प्रतियोगितामा सहभागी विद्यालयका प्रनिनिधिहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

Location