गन्तव्य

by कोपिला अधिकारी | Sep 18 2024

Share:

म बुझ्न खोज्छु, उसका आँखाका आशाहरू असङ्ख्य वेदनाका गाथाहरू मलाई थाहा छ्रैन, म कतिको उसलाई पढ्न सक्छु मलाई लाग्छ उसको आँखाले केही भन्न खोजे झैँ प्रत्येक शिक्षिकामा ऊ आमा खोज्छ, शिक्षकको हात समाउँदा उसले बुवाको स्नेह भेट्छ ।
 

बर्खामा असिनाले चुटेर बगेको 

भेल बाडी  झैं 

उसको बुबाले बगाएको पसिनाले 

ऊ आएर यस विद्यालयमा 

कतै टोलाइरहेको छ,

कसैले बोलाउने आशामा

कसैलाई बुझ्ने भावमा ।
 

निरन्तर बुझ्ने र बुझाउने प्रयासमा 

लागेका हामी, 

थाहा छैन कतिको सफल भयौँ

या असफल,

छैन पहिले झैँ रबाफ उसँग,

भनौँ के?

 सम्झाऊँ कसरी ?

छैन यसको जवाफ मसँग ।
 

कारण असङ्ख्य होलान्

अनि मौनता पनि,

प्रत्येक दिन झोलाको भारसँगै

ऊ भासिएको छ,

चाहेर होस् या नचाहेर

यस विद्यालयसँग ऊ गाँसिएको छ ।

म ढुक्क छु,

एकदिन उदाएको सूर्यको प्रकाशझैँ

ऊ आफैँमा उदाउने छ ,

यहि हो मेरो संसार, कर्तव्य र

जिम्मेवारी भनि

उसले आफ्नो मन बुझाउने छ ।
 

ऊ कुद्छ, नसके हिँड्छ

त्यो पनि नसके घस्रन्छ

तर ऊ गन्तव्यमा पक्कै पुग्छ,

त्यो काँधको भार कतै बिसाएर,

मनमा शिक्षकप्रति माया मिसाएर,

मलाई आशा छ,

ऊ उडेर भएपनि पुग्नेछ

ऊ आफ्नो निर्धारित गन्तव्यमा 

पक्कै पुग्नेछ ।