सांस्कृतिक जागरणमा ध्यान दिने कि !

by शर्मिला सुवाल पराजुली | Sep 18 2024

Share:

कला, साहित्य,धर्म, रीतिरिवाज, संस्कार कुनै पनि मुलुकका पहिचान र निधि हुन् । क्षेत्रफलको आधारमा हाम्रो देश नेपाल विश्वको ९३ औँ ठूलो देश हो। यहाँ १४२ जातजातिको बसोबास रहेको छ । त्यसैगरी १२४ भाषा मातृभाषाको रूपमा बोलिने गरिन्छ । जातै पिच्छेको संस्कार, रीतिरिवाज, चाडपर्व, परम्परा, पहिरण गरगहना हाम्रो जातिय पहिचानको विशेषता हो। अतः हाम्रो देश बहुभाषिक, बहुसांस्कृतिक र बहुजाति बसोबास गर्ने मुलुक हो। यसको भू-बनोट हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजन गरिएको छ । भौगोलिक विविधताका बावजुद पनि एकताबद्ध भई राष्ट्रिय हितमा कार्यहरू गरिएका अनेकौं उदाहरणहरू छन्। नेपाल विश्वमा आफ्नो पहिचान बनाउन सफल एउटा सानो दक्षिण एसियाली  मुलुक हो। सगरमाथा, गौतम बुद्ध, उमा, भृकुटी, जङ्गबहादुर राणा लगायत विभिन्न १८ जना राष्ट्रिय विभूति,प्रकृतिका अनुपम मनोरम दृश्य, जलस्रोत आदि हाम्रो देशका अन्तर्राष्ट्रिय पहिचान हुन्।


विभिन्न कालखण्डमा अनेकौं प्राकृतिक प्रकोपसँग सामना गर्दै अगाडि बढेको हाम्रो मुलुकले विशेष गरी बाढी पहिरो भूकम्प तथा चर्ट्याङ जस्ता प्राकृतिक प्रकोपको सामना गर्नु परेको छ । विक्रम सम्वत २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले १४ वटा जिल्लामा मानवीय तथा भौतिक क्षति गर्यो। जसका कारण घर, विद्यालय भवन, कार्यालय भवन, सडक पुल आदिमा ठूलो क्षति भयो। तत्काल विश्वको विकसित तथा अन्य विभिन्न मुलुकहरूले तत्काल राहत तथा उद्धारका कार्यमा प्राविधिक तथा आर्थिक सहयोग गरेका थिए ।अन्तत गत्तो नेपाल सरकार तथा पुनः निर्माण प्राधिकरणले भूकम्प प्रतिरोधात्मक पक्की तथा ढुङ्गा माटोको दुई कोठे भवनका लागि निर्माण आचरण संहिता लागू गर्यो । यो मापदण्डलाई आधार मानेर  निर्माण गरिएका भवनको संरचनामा एउटा सानो परिवारमात्र अटाउने हुँदा सयौं वर्षदेखि संयुक्त परिवारमा मेलमिलाप गरी बसेको परिवार एकल परिवारमा परिणत भयो। यो एउटा संयुक्त परिवारमाथिको दात्री राष्ट्रहरूको ठूलो प्रहार थियो।नेपाल मात्र यस्तो एउटा राष्ट्र हो जहाँ तीन पुस्ते एउटै भान्छामा खाना खाई एउटै छ्तमुनि  बस्दछन् । तर,यो संस्कारलाई निरुत्साहित गरियो, जसलाई हामी आजको समयको माग भनिरहेका छौं। त्यसैगरी दिनप्रतिदिन हाम्रो मौलिक कला साहित्य लोक संस्कृतिमाथि आक्रमण भइरहेको छ । सस्तो लोकप्रियताका लागि साहित्य कला गीत संगीतलाई बन्धकी राख्न पनि युवा पुस्ता पछि परेका छैनन् भने केही युवा पुस्ता संरक्षणकारी तथा जगेर्ना गर्ने खाल्का काममा पनि लागि परेका छन्।